पन्ध्र वर्षपछि मुद्दा उल्टियो
टोकियो, ८ जुन । जापानको कारागारमा विगत १५ वर्षदेखि एउटा हत्या आरोपमा बन्दी जीवन बिताइरहेका इलामका गोविन्दप्रसाद मैनालीको मुद्दा पुनरावलोकन गर्न जापानको टोकियोस्थित हाइकोर्टले आदेश दिएको छ ।
यद्यपि गोविन्दलाई तत्कालै रिहा गर्ने नगर्नेबारे केही कानुनी अड्चन रहेको बताइएको छ । गोविन्द विदेशी नागरिक भएकाले छाड्न मिल्ने वा नमिल्नेबारे पुनः अर्को बहस सिर्जना भएको छ । हाइकोर्टको फैसला कस्तो आउला भनी पर्खेर बसेका परिवारजनमा बिहानैदेखि खुशीयाली छाएको थियो । रातभर सुत्न समेत नसकेकी गोविन्दकी वृद्ध आमा चन्द्रकला मैनालीले छोराको रिहाइ हुने खबर सुन्नासाथ भन्नुभयो, “यो वृद्धावस्थामा एकपटक छोराको मुख हेर्न पाऊँ भनेर रातभर भगवानसँग प्रार्थना गरिरहेकी थिएँ, त्यो अब पूरा होला कि भन्ने लागेको छ ।”
जापानको न्यायिक इतिहासमा कुनै पनि मुद्दाको पुनः सुनुवाइ गर्न अदालतबाट यस्तो आदेश विरलै हुने गरेको छ । सन् १९४५ पछि पहिलोपटक कुनै पनि विदेशी नागरिकको मुद्दालाई अदालतले पुनः सुनुवाइ गर्ने आदेश भएको छ ।
गोविन्दमाथि जापानको टोकियोमा सन् १९९७ मा एक ३९ वर्षीया महिलालाई बलात्कारपछि हत्या गरेको आरोप लागेको थियो । सोही घटनामा उहाँसँगै गिरफ्तार भएका अन्य नेपाली भने पक्राउ परेको केही समयपछि छुटेका थिए ।
विदेशी नागरिक भएकै कारण जापान प्रहरीले गोविन्दमाथि जबर्जस्ती हत्याको आरोप लगाइएको गोविन्दको परिवार र जापानका शुभेच्छुकले दाबी गर्दै आएका थिए । उनीहरू गोविन्दलाई छुटाउन जिल्ला अदालत, उच्च अदालत र सर्वोच्च अदालतसम्म पुगेका थिए ।
जिल्ला अदालतले भने सन् २००० मा गोविन्दका सम्बन्धमा प्रमाणहरू ठोस नभएको भन्दै रिहा गर्ने आदेश दिएको थियो । यद्यपि उनी हाइकोर्टको आदेशमा पुनः गिरफ्तार भई जन्मकैदको सजायमा कैदीजीवन बिताइआएका थिए ।





