माओवादी गैरजिम्मेवार भएको कोइरालाको दाबी

चितवन, १२ अगस्ट । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले राष्ट्रिय र अन्तरराष्ट्रिय जगत्मा एकीकृत नेकपा माओवादी गैर जिम्मेवार ठहरिँदै गएको आरोप लगाउनुभएको छ । नेपाल पे्रस युनियन चितवन शाखाले आज नारायणगढमा आयोजना गरेको चिजकुमार विष्णुकुमारी राष्ट्रिय पत्रकारिता पुरस्कार वितरण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले माओवादीको गैर जिम्मेवारीपनाका कारण देश अधोगतितर्फ गएको बताउनुभयो ।
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको काँग्रेसको नेतृत्वमा अबको सरकार गठन हुन नसक्ने भन्ने पछिल्लो भनाइप्रति आक्रोश पोख्दै सभापति कोइरालाले सरकारको नेतृत्वको भागबण्डा लगाउने जिम्मा दाहालको नभएको बताउनुभयो ।
सभापति कोइरालाले भन्नुभयो, “राष्ट्र सङ्घले प्रधानमन्त्री बनाउने जिम्मा दाहाललाई दिएको छैन । उहाँलाई गैर जिम्मेवार अभिव्यक्ति दिने कुनै अधिकार छैन । माओवादी सहमति गर्न जान्ने तर पालना गर्न नजान्ने पार्टी हो ।
माओवादीका पछिल्लो क्रियाकलापले ऊ सत्ताकब्जाको रणनीतिमा लागेको स्पष्ट भएको छ भन्दै उहाँले विधिविधान नमान्ने अधिकार कसैलाई नभएको बताउनुभयो । हतियारको राजनीति नत्यागेसम्म माओवादी नसुध्रने बताउँदै सभापति कोइरालाले भन्नुभयो, “तपाईको बन्दुकले मलाई मार्न सक्ला तर काँग्रेसको विचार मर्ने छैन ।”
सभापति कोइरालाले झूठको खेती छाडेर विगतमा भएका सहमति कार्यान्वयन गरी मुलुकलाई निकास दिन माओवादीलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा शशाङ्क कोइराला, दीपक गिरी, मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली र उमा अधिकारीले माओवादी सत्ताकब्जाको मानसिकताबाट ग्रस्त भएका कारण मुलुकले संविधान पाउन नसकेको बताउनुभयो ।
चिजकुमार विष्णुकुमारी श्रेष्ठ राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित वरिष्ठ पत्रकारद्वय हरिहर विरही र तारानाथ दाहालले पुरस्कार पाएकामा खुसी व्यक्त गर्दै बाँचुञ्जेल प्रेस स्वतन्त्रताको पक्षमा लडिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रजातान्त्रिक सेनानी सङ्घका तत्कालीन अध्यक्ष स्व चिजकुमार श्रेष्ठका परिवारले स्थापना गरेको रु २५ हजार ५ सय ५५ धनराशिको सो पुरस्कार काँग्रेस सभापति कोइरालाले आज उहाँहरुलाई प्रदान गर्नुभएको हो ।
प्राविधिक कारणले गत वर्ष पुरस्कार वितरण गर्न नसकिएपछि दुवै वर्षको पुरस्कार एकैसाथ पत्रकार विरही र दाहाललाई प्रदान गरिएको हो । श्रेष्ठ परिवारले नेपाल प्रेस युनियन चितवन शाखालाई एकमुष्ट उपलब्ध गराएको रु तीन लाख रकमको अक्षयकोषबाट पुरस्कार वितरण गरिँदै आएको छ । श्रेष्ठ परिवारले अक्षयकोषमा आज रु एक लाख एक हजार थप गरेको छ ।

प्रतिकृया


अंग्रेजीमा कमेन्ट लेख्नको लागि (CTRL+G) थिच्नुहोस ।