सहमतीय सरकार निर्विकल्प
काठमाडौं, १२ अगस्ट । मुलुक गम्भीर सङ्कटको भुमरीमा पर्न लागेको भन्दै अबको राजनीतिक संकटको एकमात्र उपाय राष्ट्रिय सहमतिको सरकार गठन गर्नुपर्ने नेताहरूले आँैल्याउनुभएको छ । आज यहाँ आयोजित कार्यक्रममा नेपाली काँग्रेसकी नेत्री सुजाता कोइरालाले सहमति, सहकार्य र एकताका लागि नेपाली काँग्रेसले अबको प्रधानमन्त्रीको उम्मेदवार यथाशीघ्र घोषणा गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । नेत्री कोइरालाले संविधानसभाको पुनःस्थापना गर्न नहुने विचार पनि व्यक्त गर्नुभयो ।
उहाँले मुलुकलाई निकास दिन रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाएमा आफ्नो समर्थन रहने, नेता शेरबहादुर देउवाले अविभावकको भूमिका निर्वाह गर्नुपर्ने र पार्टी सभापतिले सशक्त भूमिका निर्वाह गरी पार्टीलाई अगाडि लैजानुपर्ने विचार व्यक्त गर्नुभयो ।
नेकपा (एमाले)का सचिव युवराज ज्ञवालीले सत्ताका लागि एनेकपा (माओवादी)ले संविधानसभा भङ्ग गरेको आरोप लगाउँदै ‘प्रधानमन्त्री डा बाबुराम भट्टराईको सरकारले नैतिक तथा राजनीतिक आधार गुमाइसकेकाले’ तुरुन्त राजीनामा दिई दलको सहमतिमा राष्ट्रिय सरकार निर्माणका लागि बाटो खोल्न आग्रह गर्नुभयो । सचिव ज्ञवालीले भन्नुभयो– संविधानसभालाई पुनः ब्यँुताउनु भनेको प्रतिगमनमा जानु हो, तसर्थ नयाँ चुनावमा जानु नै उत्तम विकल्प हो । एनेकपा (माओवादी)का प्रवक्ता अग्निप्रसाद सापकोटाले संविधान निर्माणका अन्तरवस्तु जातीय पहिचानसहितको सङ्घीयता, कार्यकारी राष्ट्रपति तथा शान्तिप्रक्रियाका सवालमा दलहरू सहमतिमा आएमा आफ्नो दल सरकारबाट तुरुन्त बाहिर निस्कने अन्यथा प्रधानमन्त्रीको राजीनामा नआउने प्रस्ट पार्नुभयो ।
उहाँले देश र जनताको अधिकार सुनिश्चित गर्न थोरै समयका लागि सहमतिबाट संविधानसभा ब्युँताउन सकिने अन्यथा चुनावमै जानुपर्ने बताउनुभयो । उहाँले पाँचबुँदे सहमतिको मर्मअनुरूप दलहरू सहमतिमा आएमा नेपाली काँग्रेसको नेतृत्व मान्न सकिने यदि यसो नहुने हो भने काँगे्रको नेतृत्व आफ्नो दललाई स्वीकार्य नहुने बताउनुभयो ।





