सिरियाबारे छलफल गर्न विदेश मन्त्री क्लिन्टन टर्कीमा
इस्तानबुल, १२ अगस्ट । विगत करिब डेढ वर्षदेखि आन्तरिक द्वन्द्वमा फसेको सिरियामा रक्तपात अन्त्यका लागि अमेरिका आतुर रहेको अमेरिकी विदेश मन्त्री हिलारी क्लिन्टनले बताउनुभएको छ । उहाँले भन्नुभयो– हामी जतिसक्यो चाँडै सिरियामा रक्तपातको अन्त्य तथा वर्तमान राष्ट्रपति बसार अल असादको सत्ताच्युत गराउन चाहन्छौं । हाल टर्कीको भ्रमणमा रहनुभएकी विदेश मन्त्री क्लिन्टनले टर्कीका विदेश मन्त्री अहमेत दाभधुक्लुसँगको भेटपछि सो प्रतिक्रिया दिनुभएको हो ।
सिरियामा जारी रहेको हत्या र आतङ्कको अन्त्यका लागि आवश्यक परामर्श गर्न उहाँ शुक्रबार टर्की पुग्नुभएको हो । सो प्रयोजनका लागि अमेरिकी विदेशमन्त्री हिलारी क्लिन्टन शुक्रबार नै टर्कीका अधिकारीहरूसँग छलफल गर्न त्यसतर्फ लाग्नुभएको समाचारमा जनाइएको छ ।
उहाँले टर्कीमा त्यहाँका अधिकारीहरूका साथै सिरियाका विपक्षी नेताहरूसँग पनि कुराकानी गर्नुहुने समाचारमा जनाइएको छ । साथै उहाँले संयुक्त राज्य अमेरिकाले सिरियामा थप नाकाबन्दी लगाउने तयारी गरिरहेको र सिरियाका वर्तमान राष्ट्रपतिको सत्ताच्युत गरी त्यहाँका नागरिकको चाहना बमोजिमको प्रजातान्त्रिक व्यवस्थाको स्थापनाका लागि उहाँले टर्कीका अधिकारीहरूसँग थप छलफल गर्नुहुने पनि समाचारमा जनाइएको छ ।
सो क्रममा उहाँले इरानसँगको सम्बन्धलाई तोड्नका लागि बल दिनेखालका र सिरियाली वर्तमान राष्ट्रपति बसार अल असादको सरकारलाई अप्ठेरो पार्ने खालका कामहरू सम्मिलित नयाँ आर्थिक नाकाबन्दीका बारेमा छलफल गर्नुहुने बताइएको छ ।
त्यसैगरी उहाँले सिरियामा जारी आन्दोलनका कारण सिरिया छोड्न बाध्य भएका नागरिकको सहयोगका लागि पनि आर्थिक सहायता प्याकेजको घोषणा गर्नुहुने बताइएको छ । सिरियामा १८ महिनाभन्दा लामो समयदेखि सरकार विरुद्ध आन्दोलन जारी छ । यसक्रममा २० हजार नागरिकको ज्यान गइसकेको छ । तर पनि राष्ट्रपति असादले सत्ता नछोड्ने बताउँदै आउनुभएको छ । सो आन्दोलनमा आन्दोलनकारीहरूलाई अमेरिकाले सहयोग गर्दै आएको आरोप राष्ट्रपति असादले लगाउनु भएको छ ।





